उनी हुन् जोशी थरका कुश्मेली रैथाने । जोशीको विकल्पमा उनले नामको पछाडि 'विकल्प' लेख्न थालेको पनि अब त साढे दुई दशक नाघिसकेछ । अहिले पनि जिल्लाभित्र र बाहिर उनलाई चिन्नेले इन्द्रकुमार विकल्पको नामले नै चिन्छन् । पेसाले उनी व्यापारी, कुश्माबजारमा उनको भाँडाकुँडा पसल निकै पुरानो मानिन्छ । त्यो उनको पारिवारिक र निजीस्तरको गरिखाने धन्दा हो । सरकारी सेवाको उनको अर्को पेसा पनि छ- शिक्षण । कुश्माकै नारायण उच्च माध्यमिक विद्यालयमा विकल्पले पढाउन थालेको तीन दशक पुगिसक्यो । छनलाई उनको स्थानीयस्तरमा व्यापारी र शिक्षकको बलियो परिचय छँदै छ । तर, उनलाई फराकिलो वृत्तमा चिनाउनका लागि 'पेसा बन्न नसकेको' अर्कै चर्चित पेसा छ- साहित्यकर्म । त्यसैले इन्द्रकुमार आफूलाई चिनाउनैपर्दा न 'म शिक्षक हुँ' भन्छन्, न 'भाँडा व्यापारी' । बरु भन्छन्, 'आम्दानी नहुने, खर्चमात्रै भइरहने पेसामा छु म त ।' साहित्यिक चिनजान गर्न पर्वत जाने जोकोहीलाई उनी सुनाइहाल्छन्- कसरी कुश्मामा 'पर्वत साहित्य संगम' को स्थापना गरियो ? कसरी उनले 'कालीको सुसेली' पत्रिकालाई १० वर्षदेखि निरन्तर प्रकाशन गर्न सकिरहेका छन् ? नेपाली साहित्यमा उनका के-कति कृति प्रकाशित भइसके ? कुन-कुन संघ-संस्थामा उनको संलग्नता छ ? कस-कसले उनको व्यक्तित्व र कृतित्वमाथि अनुसन्धान गरिरहेछन् ? आदि-आदि । आफ्नाबारेमा जसरी उनी गर्वसाथ बताउँछन्, पर्वतको साहित्यिक गतिविधिमा आफ्नै ढंगले उनी क्रियाशील पनि छन् । ०५४ सालमा स्थापित पर्वत साहित्य संगमको लगातार दस वर्षसम्म विकल्प नै 'निर्विकल्प' अध्यक्ष रहे । ०५६ देखि प्रकाशित 'कालीको सुसेली' अर्धवाषिर्क पत्रिकाको सम्पादक पनि उनी नै रहे । दुई वर्षयता संगमको संरक्षक रहेका उनी 'कालीको सुसेली' पत्रिकालाई आफ्नै सम्पादकत्वमा त्रैमासिक बनाई संस्थाको कार्यकारी भूमिकामै सक्रिय छन् । 'धौलागिरिमै यसरी साहित्यिक पत्रिकालाई निरन्तरता दिन सकेको हामीले मात्रै हो,' उनले बागलुङ, म्याग्दी र मुस्ताङको उदाहरण दिँदै गर्वसाथ भने, 'मोफसलमा साहित्यिक पत्रिका प्रकाशित गरिरहन निकै गाह्रो छ ।' पर्वत साहित्य संगमले 'कालीको सुसेली' सँगसँगै बालबालिकाका लागि 'बालसुसेली' पत्रिका सात अंकसम्म प्रकाशन गर्‍यो । ६ अंकसम्म 'चौतारी' नामक लघुपत्रिका पनि प्रकाशन गर्‍यो, जसमा मासिक साहित्य शंृखलामा वाचन गरिएका सिर्जना प्रकाशन गरिन्थे । चालीस शृंखलासम्म सञ्चालित मासिक कार्यक्रम हाल स्थगित छ । 'त्यसलाई निरन्तरता दिनेबारे सोच्दै छौँ,' विकल्पले भने । कुनै वेला जिल्ला सदरमुकाममा थोरै साहित्यिक संघ-संस्था थिए, कार्यक्रम सीमित हुन्थे । तर, विकल्पले हेर्दाहेर्दै अनेक आयामका अनेक साहित्यिक संघ-संस्था स्थापना हुँदै गए । ०६२/६३ को जनआन्दोलन वरिपरि प्रगतिशील लेखक संघ, लोकतान्त्रिक स्रष्टाको सयुंक्त मञ्च, अखिल नेपाल लेखक संघ, स्रष्टा नेपालजस्ता नयाँ वैचारिक साहित्यिक संघ-संस्था स्थापना भएपछि पर्वत साहित्य संगमको क्रियाशीलता खुम्चँदै जान थाल्यो । त्यसपछि 'कालीको सुसेली' र पर्वत साहित्य संगमको गतिमा सुस्तता आएको देखिन्छ । तर, विकल्प भन्छन्, 'होइन, हामी त स्थानीयस्तरमा विभिन्न कार्यक्रम गरिरहेकै छौँ ।' मोफसलबाट साहित्यिक पत्रिका निकाल्दा आइपर्ने समस्याको ठूलो चाङ छ विकल्पसँग । उनले सुनाए, 'मुख्य समस्या आर्थिक हो । यहाँ विज्ञापन पाइन्न, सरकारी विज्ञापन हामीलाई दिइन्न । स्थानीय पत्रिकालाई वरिष्ठ साहित्यकारले रचना दिन अन्कनाउँछन् । हामीले रचनाको पारिश्रमिक दिन सक्दैनौँ, सायद त्यसै भएर पो हो कि ।' जिल्लाका साहित्यकारलाई केन्द्रका साहित्यकारले चिन्दै नचिन्ने गरेको गुनासो पनि गरे उनले । 'हामी एउटा राष्ट्रियस्तरको कार्यक्रम गर्ने सोचमा छौँ,' उनले भने, 'यहीँ बसेर पनि हामी काम गरिरहेका छौँ भन्ने सत्य राजधानीलाई थाहा दिन चाहन्छौँ ।' कविता, कथा, मुक्तक, उपन्याससहित साहित्यिक कृति प्रकाशित आठ, संलग्न संघ-संस्था १६, पुरस्कार र सम्मान आठ, पुस्तक-पत्रिका सम्पादन चारवटा पछिल्लो कथासंग्रहको पछिल्लो आवरणमा इन्द्रकुमारको यस्तै बायोडाटा छ । पचास हिउँद पनि ननाघेका यी साहित्यकारको बायोडाटा अझै लम्बिँदो छ । भन्छन्, 'मेरा इन्द्रेणी सपनाहरू कवितासंग्रह पनि प्रकाशनोन्मुख छ ।' विकल्प साहित्य संगमको अध्यक्ष हुँदा पर्वतबाटै थालिएको साहित्यिक वनभोज कार्यक्रमले धौलागिरिमा निरन्तरता पाएको रहेछ । नौ वर्षअघि सुरु भएको वनभोज प्रत्येक वर्ष म्याग्दी, बागलुङ र पर्वतले पालैपालो आयोजना गर्छन् । 'यसपालि हाम्रो पालो हो, हामी त्यसको तयारी गर्दै छौँ,' उनले भने, 'यसले धौलागिरिका साहित्यकारबीच सौहार्द सम्बन्ध कायम गर्न सहयोग पुर्‍याएको छ ।' सँगसँगै धौलागिरिका चार जिल्ला र छिमेकी जिल्लाका साहित्यकारलाई पनि उनले छिट्टै तिथि तोकिने वनभोजका लागि अगि्रम निम्ता दिए ।
शब्द/तस्बिरः संगीतश्रोता
साभार :- नया पत्रिका

World wide visiter of Kushmaparbat.com








The Search Engine Marketing Tool
Watch the latest videos on YouTube.com

Guestbook Mail or Leave me the Message

Copyright©www.kushmaparbat.com|All Rights Reserved

Creater & Publisher:-