पर्बत जिल्ला
ईतिहास अनुसार राजा मलेबमका पालामा शक्तिशाली चौविसे राज्य पर्वत उत्तर भोट देखि दक्षिण गुल्मी र गल्कोट पूर्वमा मोदीखोला र पश्चिममा जुम्लासम्म आफ्नो क्षेत्र विस्तार गर्न सफल भएको थियो । त्यतिबेलाको गण्डकी क्षेत्रको एक शक्तिशाली चौबिसे राज्य वि.सं. १८४४ मा नेपाल राज्यमा विलय भएको थियो ।यसरी पुरानो ईतिहास अध्ययन गर्दाको पर्वत र वर्तमान पर्वत जिल्लाको तुलनात्मक दृष्टिमा सानो सिमानामा नियन्त्रित भएको छ ।
धार्मिक प्रमाणको आधारमा यस जिल्लालाइ जगतमाता पार्वतीको जन्मस्थान मानिएको छ । पार्वतीको जन्मस्थान हालको पर्वत जिल्लाको पाङ्ग गा. वि.स. भएको भन्ने प्रमाणको आधारमा पर्वत नामाकरण भएको पाईन्छ ।परापूर्व कालमा पर्वत जिल्लाको पातीचौरलाई पार्वती चोक र पातीखोलालाई पार्वती गंगा भनिन्थ्यो भन्ने किम्वदन्ती रहेको पाईन्छ ।
पर्वत जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रको मध्य पहाडी जिल्ला हो । ८३.३४h देखि ८३.५९h पुर्वी देशान्तरA२७.५८f देखि २८.३९f उत्तरी आक्षांशAधौलागिरी अञ्चलमा पर्ने पर्बत जिल्ला पूर्वमा कास्की र स्याङ्जा, पश्चिममा बाग्लुङ्ग र म्याग्दी, उत्तरमा म्याग्दी र दक्षिणमा स्याङ्जा र गुल्मी सिमाना भएको क्षेत्रफलको हिसाबले नेपालको राजधानी काठमाडौं, ललितपुर र भक्तपुर पछिको चौथो सानो जिल्लामा सिमित पर्वतको कुल क्षेत्रफल ५३६.८६ वर्ग कि.मी. रहेको छ ।
पर्वत जिल्ला सामान्य पहाडी जिल्ला सरहकै भौगोलिक बनावट भएको सुन्दर जिल्ला हो। उचाईका हिसावले सामुन्द्रिक सतहबाट ५२० मिटर उचाइमा रहेको सेतीवेणी देखी ३३०९ मिटर उचाइमा रहेको हम्पालको लेकसम्मको भू-भाग यस जिल्लामा पर्दछ । यस जिल्लाका रमणीय लेकाली चुचुराहरुमा उत्तरी भागमा पर्ने हम्पाल र लोप्रेका लेकहरु मध्य भागका पञ्चासे, डहरे तथा दक्षीणी भागका चिसापानी
र गोर्ल्याङ्ग पर्वत जिल्लाका अग्ला चुचुराहरु हुन् । जहां शिशिरमा हिउंले ढाक्ने र वसन्तलाई लेकाली जडीवुटी, वन्य जन्तु र लालीगुरांस लगायतका धेरै सुन्दर फुलहरुले सिंगारीरहेका हुन्छन् । यी चुराहरुबाट उत्तरी क्षेत्रमा देखिने हिमशृङ्खला र टाढा-टाढाका मनमोहक दृष्य तथा विहानीको सूर्योदयको सुन्दरताले पर्यटकहरुलाई मन्त्र मुग्ध पार्ने हुँदा पर्यटन विकासको सम्भावना त्यत्तिकै छ ।कुश्माको गुप्तेश्वर गुफा, ज्ञादीको अलपेश्वर गुफा, पाङ्गको भुवनेश्वरी गुफा, वर्राचौरको सितलपाटी गुफा, लुंखुको चनौटे भिर मुनीको ढाउ गुफा यस जिल्लाका प्रसिद्ध गुफाहरु हुन भने धार्मीक तथा प्रयटकिय दृष्टिले मोदीवेनीको नरसिंह मन्दिर, सेतीवेणीको शालिकग्राम शिला, धाईरिङ्गको भुमे, लुंखु चिसापानीको कालिका देवी मन्दिर, कुश्मा, आर्थर र भोर्लेका बौद्ध गुम्बाहरु, ठुली पोखरीको वाटुलेचौर, होश्रादीको पैंयुकोट र धुवाकोटको ऐतिहासिक दरवार तथा किल्ला, माझफांटको कर्र्णोलको दरवार, तथा लुंखुको महाशिला (मेलढुङ्गा) महत्वपूर्ण मानिन्छन् ।
विकासका पुर्वाधार र चेतना स्तरका हिसाबले 'पर्वत' अन्य जिल्ला भन्दा अगाडी छ । ६५ प्रतिशत भन्दा बढि बासिन्दा साक्षर छन् । हरेक वर्ष एस.एल.सी. उतिर्ण गर्नेको दर अन्य जिल्लाको तुलनामा उच्च छ । पर्वतमा १ लाख ५७ हजार ८ सय २६ जनसंख्या रहेको पछिल्लो जनगणनाले देखाएको छ । पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजार हो । जिल्लाका ५५ गाविसमध्ये ५५@गाविसलाई कच्चि नै भएपनि मोटरबाटोले जोडेको छ । मोदीखोला जलविद्युत आयोजना संचालनमा आएदेखि जिल्लामा बिद्युतिकरणले तिव्रता पाएको छ । नजिकैको पर्यटकिय सहर पोखरा र विश्व प्रख्यात पैदलयात्रा क्षेत्र अन्नपुर्ण संरक्षण क्षेत्रलाई लक्षित गरेर जाने पर्यटकलाई आर्कषित गर्न सके यो सानो-सुन्दर जिल्लाको विकास गर्न मुस्किल पर्दैन । सदरमुकाम कुस्मा बजार नै यहाँको मुख्य बजार हो । फलेबास, कार्कीनेटा, लुंखु, वल्लो बेनी जस्ता स्थान मुख्य ब्यपारिक केन्द्र हुन । कुस्मा बजार नजिकै रहेका प्रसिद्ध धार्मिक स्थल गुप्तेश्वर गुफा र मोदीवेनी देशी तथा विदेशी पर्यटकका आर्कषणका केन्द्र हुन । शिवरात्री, ठुली एकादशीर बालाचर्तुदशी जस्ता पर्वमा यहाँ भक्तजनको भिड लाग्छ । कृर्षि यहाँका बासिन्दाको मुख्य पेशा हो । प्रायः कृषकहरु परम्परागत खेती प्रणालीमै निर्भर छन् ।बैज्ञानिक खेती प्रणालीको अभावमा मेहेनत अनुसारको आय गर्न मुस्किल छ । कृर्षि बाहेक सरकारी सेवा र बैदेशिक रोजगारीमा लाग्नेको संख्या पनि धेरै छ ।




