झन्डै पौने शताब्दी उमेर खाइसकेका शान्तिनारायण श्रेष्ठको मन अझै अस्थिर छ । हरेक दिन 'यसो गर्नु छ र उसो गर्नु छ' भन्दै उनी कुश्मा बजारमा कुदिरहेका भेटिन्छन् । कहिले पुस्तकालयको कार्यक्रमको निम्ता बाँड्दै हुन्छन्, कहिले आफ्नै पुस्तक विमोचन समारोहको । कहिले गुप्तेश्वर गुफामा पर्यटक घुमाउँदै हुन्छन्, कहिले साहित्यिक कार्यक्रममा गीत गाउँदै । दृश्य यस्तो पनि देख्न सकिन्छ- कहिलेकाहीँ त उनी मध्यचोकमै कसैसित जोडतोडका साथ 'झगडा' गरिरहेका हुन्छन् । ठाड्ठाडै कसैलाई धम्क्याइरहेका पनि हुन सक्छन्, आफ्नै साथीहरूलाई गाली गरिरहेका पनि भेटिन्छन् । तर्सनुपर्दैन, साथीहरूलाई आफ्ना तर्कमा 'कन्भिन्स' गराउने यो उनको मौलिक तरिका हो । कुश्माबजारका गल्लीगल्लीमा सबैभन्दा छिटो कुदिरहने पाको उमेरको कोही देखिएछ भने त्यो पनि शान्तिनारायण श्रेष्ठ नै हो । हिँड्डुलमा फुर्तिला, खानपिनमा रसिला, नाचगानमा खप्पिस, साहित्यमा क्रियाशील र व्यवहारमा अलिकति 'अचाडु' । यही हो, शान्तिनारायण श्रेष्ठको देखिने परिचय । यस्तो लाग्न सक्छ, उनको परिचय यो नामले बोक्दैन । शान्तिनारायणको स्वभाव र जीवनशैलीमा ध्यान दिने हो भने नाम परिमार्जित हुनेछ- अशान्तिनारायण । उनी कहिल्यै शान्त, सुस्त र निर्धक्क देखिन्नन् । सधैं हतारो, सधैं कुदाकुद, सधैं अधीर । खासमा शान्तिनारायण पर्वतका अगुवा साहित्यकार हुन् । उनी जन्मे-हुर्के पर्वतमै, सदरमुकाम कुश्माको नेवार परिवारमा । जवान भएदेखि उनले त्यही जिल्लालाई आफ्नो साहित्य-सिर्जनाको कार्यक्षेत्र बनाएका छन् । घुम्न त उनी सरकारी कर्मचारी भएर विभिन्न जिल्ला पनि घुमे । त्यस अवधिमा पनि उनको जाँगरचाहिँ साहित्यमै बढी जाँगरिलो देखियो । तीनबीसे दस शिशिर-वसन्त काटिसक्यो श्रेष्ठको एकबारको जुनीले । तर, उनी अहिले पनि कुनै बैंसालु ठिटोजस्तै उत्साही देखिन्छन् । भर्खरै विमोचित आप\mनो चौधौं कृति 'खाटा बस्न नसकेका घाउहरू' मुक्तक-संग्रह झोलामा बोकेर काठमाडौं आएका उनले गुनासो गरे, 'खै, यहाँका पत्रिकाले हाम्रा रचना छाप्नै मान्दैनन् ।' राजधानीले नछापे पनि कुश्माबाटै श्रेष्ठका चौधवटा कृति आइसके । गीत-संग्रह चारवटा, मुक्तक-संग्रह दुईवटा, गजल-संग्रह दुईवटा र खण्डकाव्य, शोककाव्य, नियात्रा-संग्रह, हाइकु-संग्रह, तांका-संग्रह, चोका-संग्रह एक/एकवटा गरी चौधवटा साहित्यिक कृतिका स्रष्टा भइसकेका छन् उनी । उनकै शब्द तथा लय संकलनका 'आजै छ लगन' र 'हिलेपानी गाउँ' नामका दुई गीति क्यासेट पनि बजारमा आएका छन् । अघिल्लो वर्ष उनकै लेखन तथा निर्देशनमा 'गुप्तेश्वर गुफा' वृत्तचित्र पनि निर्माण भयो । 'धार्मिक तथा पर्यटकीय क्षेत्र गुप्तेश्वर गुफाबारे थाहा पाउन यो वृत्तचित्र एकपटक सबैले हेर्नैपर्छ,' वृत्तचित्रको मूलकपी नै बोकेर राजधानी आएका श्रेष्ठले भने, 'पर्वतको पर्यटनमा सहयोग पुर्याृउने उद्देश्यले मैले यसको लेखन/निर्देशन गरेको हुँ ।' उनको अर्को दुखेसो छ- बुझ्नुपर्नेले नै त्यो वृत्तचित्रको मर्म बुझिदिएनन् । श्रेष्ठले साहित्य-सेवामा हात हालेको आधा शताब्दी नाघिसक्यो । २०१८ सालमै उनले 'आँकुरो' नामको हस्तलिखित पत्रिकाको सम्पादन गरेका थिए । त्यसयता 'पर्वतमाला' पत्रिका र 'सगुन' साहित्यिक पत्रिकाका विभिन्न अंकको पनि उनले सम्पादन गरे । साहित्यिक, सांस्कृतिक, धार्मिक तथा व्यापारिक गरी झन्डै डेढ दर्जन संघ/संस्थामा उनी संलग्न छन्, अधिकांशमा अध्यक्ष र सल्लाहकार । त्यति नै लामो छ, स्थानीयस्तरका पुरस्कार र सम्मान पाएको उनको सूची । उनी साहित्य-लेखनमा अहिले पनि उत्तिकै सक्रिय छन् । गुप्तेश्वर बहुउद्देश्यीय पुस्तकालयमार्फत् अहिले पनि उनी साहित्यिक कार्यक्रम, स्रष्टा सम्मान, पुस्तक प्रकाशन गरिरहेकै छन् । 'यसपालि हामीले सुदूरपश्चिमका खगेन्द्र गिरी 'कोपिला' र पोखराका रमेश श्रेष्ठलाई सम्मान गर्यौँ ,' श्रेष्ठले आफ्नो पुस्तकालयको पछिल्लो कार्यक्रमबारे जानकारी दिँदै भने, 'हामीले क्षेत्रीय र राष्ट्रियस्तरका कार्यक्रमहरू पनि गरिरहेका छौँ ।' तर, उनले फेरि उही गुनासो दोहोर्यालए, 'हामीले जति गरे पनि काठमाडौंले हामीलाई महत्त्व दिँदैन ।' झन्डै दुई हप्ताअघिको साहित्यिक कार्यक्रमको समाचार झोलामै बोकेर आएका उनले नयाँ पत्रिका कार्यालयमै आएर अनुरोध गरे, 'यो समाचार छापिदिनुहोला है !' राजधानीले मोफसललाई उपेक्षा गरेकोमा श्रेष्ठ निकै चिन्तित छन् ।
पछिल्लो मुक्तक-संग्रहमा उनले लेखेका छन्-
गाली गरूँ भने पनि आफ्नै मान्छे परे
चुपचाप बसौँ भने यिनले गर्नु गरे
यो राष्ट्रको ढिकुटीलाई पेवा जस्तो ठानी
मनपरी गरे, यिनले आफ्नै भुँडी भरे !
sangeet.srota@gmail.com
साभार :- नया पत्रिका

World wide visiter of Kushmaparbat.com








The Search Engine Marketing Tool
Watch the latest videos on YouTube.com

Guestbook Mail or Leave me the Message

Copyright©www.kushmaparbat.com|All Rights Reserved

Creater & Publisher:-